झापाली आवाज

सुखानीमा नेकपा एमालेको श्रद्धाञ्जली कार्यक्रम

झापा । सुखानी हत्याकाण्ड भएको आज ५१ वर्ष पूरा भएको छ। आजकै दिन २०२९ साल फागुन २१ मा झापा आन्दोलनका पाँचजना अगुवालाई जेल सार्ने नाममा पञ्चायत सरकारले हत्या गरेको थियो।

झापाको चन्द्रगढी कारागारबाट इलाम कारागार सार्ने भनेर लैजाने क्रममा इलाम जिल्लाको हाल माई नगरपालिका वडा नं। ४ र अर्जुनधारा नगरपालिका वडा नं। ३ मा पर्ने सुखानीमा उक्त हत्याकाण्ड भएको थियो। हत्याकाण्डको स्मृति दिवस पारेर हरेक फागुन २१ गते सुखानीमा विशेष कार्यक्रम हुने गर्दछ ।

२०२८ सालदेखि सुरु भएको झापा आन्दोलन वामपन्थी आन्दोलनको मुख्य अंश हो। झापा आन्दोलनका पाँचजना अगुवाहरुलाई २०२९ फागुन २१ गते मारिएको थियो। सुखानीमा मारिने सहिदहरुमा ३४ वर्षीय रामनाथ दाहाल, २५ वर्षका नेत्र घिमिरे, ३१ वर्षका बिरेनसिंह राजबंशी, १८ वर्षीय कृष्ण कुइँकेल, र १७ वर्षीय नारायण श्रेष्ठ थिए।

२०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरूको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै ‘झापा विद्रोह’को रूपमा चिनिन्छ। सोही विद्रोहका जगमा नेकपा माले, नेकपा एमाले एवम् नेकपा माओवादीको जन्म भएको हो।

‘सामन्तलाई नगिँडे सैनिकसँग नभिडे, आउँदैन जनबाद झोली थापेर’ झापा बिद्रोहमा यही गीत गाउदै क्रान्तिकारी कम्युनिष्ट योद्धाहरुले जनतालाई सामन्ती राज्यसत्ता बिरुद्ध गरिव किसानहरुलाई गोलबद्ध गरेको थियो।

संघर्षका प्रणेताहरुद्वरा रचित क्रान्तिकारी गीतको यो एक अंश अहिले पनि उत्तिकै चर्चामा छ। त्यो बेला अत्यन्त लोकप्रिय मात्र थिएन, सशस्त्र संघर्ष किन र कोसँग गरिँदै छ भन्ने कुराको सन्देश पनि थियो।

क्रान्तिकारीहरुले एक एरिया, एक यूनिट, एक एक्सनको नीति अनुसार २०२८ सालमा लडाकु दस्त तयार गरे। र, पार्टीले छनोट गरेका जमिन्दार माथि भरुवा बन्दूक, भाला, खुकुरी लगायतका घरेलु हतियारद्वारा आक्रमण सुरु गरे।

क्रान्तिकारीको आक्रमण सुरु भएपछि जमिन्दार सुरक्षाको माग गर्दै पंचायती शासकलाई गुहार्न पुगे । संघर्षको लक्ष्य एवम् उद्देश्य सामन्ती राज्यसत्ता ध्वंस गरी जनवादी राज्यसत्ता स्थापना गर्ने थियो। झापा बिद्रोहमा मुलत किसानवर्ग संगठित भई सामन्तका बिरुद्ध हतियार उठाएकाले यसलाई किसान विद्रोह पनि भन्ने गरिन्छ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी पूर्व कोशी प्रान्तीय कमिटीसँग झापा जिल्ला कमिटीले आधारभूत मतभिन्नता राख्दै अलग भएपछि ‘वर्गसत्रु खत्तम अभियान’ नीतिका साथ अघि बढेको हो।

सामन्ती राज्यसत्तालाई ध्वस्त गरी जनवादी राज्यसत्ता स्थापना गर्ने लक्ष्यका साथ सुरु भएको झापा बिद्रोहले पंचायती व्यवस्थालाई हल्लाइ दिएको थियो।

भारतको नक्सलवादी आन्दोलनको प्रभावले झापाली क्रान्तिकारीमा प्रभाव परेपछि २०२७ सालको अन्त्यतिर झापा विद्रोहको तयारी भएको थियो। झापा बिद्रोहको उद्देश्य सशस्त्र विद्रोहबाट सामन्त राज्यसत्ता ध्वस्त गरी जनवादी राज्यसत्ता स्थापना गर्नु रहेको थियो।

झापा सशस्त्र संघर्षको थालनी २०२८ साल जेठ २ गते स्थानीय एक जमिन्दार माथि योजनाबद्ध आक्रमणबाट भएको थियो। र क्रमैसँग केही जमिन्दार मारिएको कुरा योद्धा सानो दुर्गा अधिकारी बताउँछन्।

२०२८ सालको पुस ११ गते शनिश्चरेका स्थानीय धर्मप्रसाद ढकाल माथिको आक्रमण सशस्त्र संघर्षको उत्कर्षको घटना थियो। त्यही घटनापछि झापाले राष्ट्रको ध्यान तान्यो र निरंकुश पञ्चायती व्यवस्था सशस्त्र संघर्षलाई नियन्त्रण गर्ने निहुँमा व्यापक दमन र धडपकडमा गर्न थाल्यो।

कम्युनिष्ट क्रान्तिकारीलाई सखाप बनाउने नाममा सयौँ मानिस पक्राउ गरियो। उनीहरु अमानवीय यातनाका शिकार भए। पक्राउ गरिएका मध्ये ५ जना युवालाई झापाबाट इलाम जेल सार्ने र लैजाने निहुँमा झापा र इलाम सीमास्थल सुखानीको जंगलमा २०२९ सालको फागुन २१ गते गोली हानी सामूहिक हत्या गरियो। सोही दिनको सम्झनामा झापा विद्रोहबाट उदाएको एमालेले सुखानी स्मृति दिवस मनाउने गरेको छ ।

नेकपा एमाले र भातृ संगठनहरुले आज सुखानी स्मृति दिवस मनाउँदै छन् । झापाको सुखानीमा नेकपा एमालेले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।

Scroll to Top