झापा । सहकारी अभियानको नेतृत्व गर्न चाहनेहरुको आचरण र ब्यवहार सँगसँगै तिनको प्रारम्भिक संस्थाको मूल्याङ्कन गरेर मात्र उम्मेदवार बन्न पाउने गरी नेकपा एमालेले नीति कार्यान्वयनमा ल्याउने भएको छ ।
नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा सहकारी तथा गरिवी निवारण विभागका प्रमुख खगराज अधिकारीले आज झापाको दमकमा आयोजित एक कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
नेकपा एमाले झापा जिल्ला सहकारी तथा गरिवी निवारण विभागले आयोजना गरेको सहकारी अभियन्ता तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि अधिकारीले भन्नुभयो, ‘हिजो के भयो म त्यता जान्न तर अबदेखि सहकारी संघ–महासंघ, विषयगत संघहरु, सहकारी बैंक आदिको नेतृत्वमा जान चाहनेहरु एमालेजनहरु सहकारी अभियान बुझेको, नेतृत्व गर्न सक्ने क्षमता भएको तथा आर्थिकरुपमा क्लिन हुन जरुरी छ ।’
नेपाल सरकारकोे गृहमन्त्री, स्वास्थ्य मन्त्री र गण्डकी प्रदेशको मुख्यमन्त्री भइसक्नु भएका एमाले स्थायी कमिटी सदस्य अधिकारीले सहकारी अभियानकर्मीहरु माझ निर्देशनात्मक मन्तब्य राख्नु हुँदै ‘पहिला आफू आवद्ध सहकारी संस्थालाई सदस्यको भरपर्दो, समृद्ध, रचनात्मक र नमूना बनाउनुस् अनि मात्र संघहरुको नेतृत्वमा जाने रुचि राख्नुस्’ भनी सुझाव पनि दिनुभयो ।
नेता अधिकारीले यस्ता निकायमा उम्मेदवार हुनका लागि माथिका क्राइटेरिया पूरा गरेका अभियानकर्मीहरुको नाम फ्याक्सनमा छलफल गरेरमात्र निश्कर्ष निकालिने भएकाले अहिलेदेखि आफू उम्मेदवार भएको प्रचार नगर्न पनि सुझाउनु भयो ।
विभागीय प्रमुख नारायणप्रसाद भट्टराईको अध्यक्षतामा भएको सो विशेष कार्यक्रममा झापाका अग्रज सहकारीकर्मीहरुको सहभागिता थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपानेले सञ्चालन गर्नुभएको सो कार्यक्रमको औचित्य बारेमा नेफ्स्कुनका सञ्चालक घनश्याम अधिकारीले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, उपाध्यक्ष रमेशप्रसाद पोखरेल, नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष परितोष पौडेलले सहकारी महासंघ र नेफ्स्कुनको आसन्न निर्वाचनका विषयमा अवधारणा राख्नु भएको थियो ।
सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यद्वय रोमनाथ ओली र गीता अधिकारी तथा झापा जिल्ला कमिटीका अध्यक्ष दिपक कार्कीले सहकारीको माध्यमबाटै समाजवादको यात्रा तय गर्न सकिने भएकाले अभियानकर्मीहरुले चनाखो भएर सहकारी हाँक्न सुझाव दिनु भयो ।