पोखरा । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सहकारीको ऋण नतिर्ने एमालेका नेता कार्यकर्ता सबैलाई पार्टीबाट कारवाही गर्न निर्देशन दिनुभएको छ।
नेकपा एमाले गण्डकीले सोमबार पोखरामा आयोजना गरेको अगुवा सहकारीकर्मीहरुको भेलालाई सम्बोधन गर्दै सचिव विष्टले सहकारी डुबाउने, खराब कर्जाका भागिदार र गल्ती गर्नेहरु एमालेका नेता कार्यकर्ता हुन नसक्ने बताउदै त्यस्ता ब्यक्तिलाई कारवाही गर्ने स्थानीय पार्टी कमिटीलाई निर्देशन दिनुभएको हो ।
‘केही केही सहकारी र त्यसका सञ्चालकहरु नै सुदखोर जस्ता भएको बताउदै एमाले सचिव विष्टले त्यस्ता ब्यक्ति र संस्थाले सहकारी आन्दोलनलाई कमजोर बनाएको धारणा राख्नुभएको थियो । ‘कमजोरी जहाँ छ, समस्या जहाँ छ, त्यहाँ समाधान पनि छ । हरेक ठाउँमा देखिएका समस्या समाधानको पहलकदमी एमालेका नेता कार्यकर्ताले लिनुपर्दछ । गल्ती गर्नेलाई कारवाही गर्नै पर्दछ’ सचिव विष्टको प्रष्ट भनाई छ ।
‘मिश्रित अर्थव्यवस्था र तीन खम्बे अर्थनीति एमालेको कार्यक्रम हो तर यसको सही प्रयोग र प्रचार गर्न सकिएन’ नेता विष्टले भन्नुभयो ‘समाजवादमा पुग्न श्रम सहकारी बनाएर त्यसमा आवद्ध श्रमिक सदस्यहरुलाई उत्पादनमा जोड्नै पर्दछ । उर्जा र हाईड्रोमा लगानी गर्न लगाएर इक्युटी मार्फत श्रमिकलाई मालिक बनाउन सकिन्छ ।’
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं सहकारी विभाग प्रमुख खगराज अधिकारीले सहकारीलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा विकास गर्न सबै परिवारलाई सहकारी संस्थामा आवद्ध गर्नुपर्नेमा जोड दिनुभयो ।
सामाजिक न्यायसहितको आर्थिक विकास र समृद्धि एमालेको विकास समबन्धी नीतिको सार रहेको उल्लेख गर्दै नेता अधिकारीले काँग्रेस र माओवादी सहकारी विरोधी भएको आरोप पनि लगाउनु भयो ।
पार्टीका प्रदेश उपाध्यक्ष मोहन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य मनकुमारी जिसी, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल ठकुरी, नेफ्स्कुनका अध्यक्ष परीतोस पौडेल लगायतले सहकारी आन्दोलन, अहिले देखिएका समस्या र समाधानका उपाय, नेपालको अर्थतन्त्रमा सहकारीको योगदान लगायतका विषयमा धारणा राख्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन एमाले प्रदेश सचिव धनन्जय दवाडीले गर्नुभएको थियो । भेलाको उद्देश्य बारे एमाले गण्डकी प्रदेश सहकारी विभाग प्रमुख महेन्द्रलाल श्रेष्ठले प्रकाश पार्नुभएको थियो ।