काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादको संरक्षणमा लागेको बताउनुभएको छ ।
आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले स्वाभाविक रूपमा राजश्व कम उठ्नुमा सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै गएको दावी गर्नुभएको हो ।
महासचिव पोखरेलले सरकारले नियोजित रूपमा तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादको संरक्षण गरिरहेको पनि उल्लेख गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘यतिबेला स्वाभाविक रूपमा राजश्व कम उठ्नुको कारण सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै नियोजित रूपमा तस्करतन्त्र र दलाल नोकरशाही पुँजीवादलाई संरक्षण गर्नुको परिणाम हो । सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोगका कारणले राजश्वमा कमी आउँदा पुँजीगत खर्च कम हुन गै समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न गएको छ र मुलुक आर्थिक मन्दीको चपेटामा प्रवेश गरेको छ । तर सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा अझै गम्भीर देखिएको छैन ।’
महासचिव पोखरेलले अर्थतन्त्र सुधार गर्न सबै सरोकार पक्षको ध्यान जानुपर्ने आवश्यकता औंल्याउँदै आउनु भएको छ ।