झापाली आवाज

समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु

झापा । नेकपा एमालेले सञ्चालन गरेको समृद्धिका लागि संकल्प यात्रालाई सफल एवम् प्रभावकारी बनाउन झापामा तयारी थालिएको छ । पार्टीले यही मंसीर १४ गतेदेखि पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु गर्न लागेको हो ।

‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि संकल्प यात्रा’ को समुद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसीर १४ गते बिहान साढे ८ बजे पश्चिम नेपालको झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर गर्नुहुने तय भएको छ ।

१९ दिन लामो संकल्प यात्राको तेह्रौं दिन मंसीर २६ गते अभियानको टोली कोशी प्रदेश प्रवेश गर्ने कार्यतालिका छ । अभियानको १७औं दिन मंसीर ३० गते पाँचथरको फिदिममा बृहत जनसभा गरिने तय भएकोले झापाबाट सहभागिता बढाउन योजना थालिएको हो ।

नेकपा एमाले झापा क्षेत्र नं. २ (१)को सोमबार आयोजित बैठकमा बोल्नु हुँदै जिल्ला अध्यक्ष दिपक कार्कीले संकल्प यात्राका सम्बन्धमा भन्नुभयो– ‘पहाडबाट बसाई सरेर तराइ झर्नेको लर्को छ । पहाडको उब्जाउ भूभाग फेरि जंगलमा परिणत हुन थाल्यो । सो को नियन्त्रण गर्न तत्कालीन एमाले सरकारले मध्य पहाडका विभिन्न भूगोलमा १० वटा सहर बसाउने कार्यक्रम बनाएकोमा सरकार ढलेसँगै योजना पनि स्थगित रह्यो । यही सन्देश प्रवाह गर्दै पहाडी जनजीवनलाई चलायमान बनाउन र एमालेको सरकार बनाएमा घोषित कार्यक्रम पूरा गरिनेछ भन्ने सन्देश दिन झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ गर्न लागिएको हो ।’

सोमबारको बैठकले मंसीर ३० गतेको वृहत जनसहभागिताका लागि आगामी मंसीर १७ गते नगर कमिटीले विस्तारित बैठक बसेर विस्तृत योजना बनाउने निर्णय गरिएको सचिव भोलानाथ धितालले जनाउनु भएको छ ।

सो बैठकमा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य हरिचरण सिवाकोटीले पार्टी बलियो बनाउन पार्टीका नेताहरुबाट हुँदै आएका गलत क्रियाकलापको भण्डाफोर गर्न पछि हट्न नहुने सुझाव दिनुभयो ।

नेकपा एमाले झापा क्षेत्र नं. २ (१)का संयोजक नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित बैठकमा कोशी प्रदेश कमिटीका सदस्य तथा नेकपा एमाले झापा क्षेत्र नं. २ (१)का इन्चार्ज गणेश पोखरेल र सहइन्चार्ज बिमला विकले पार्टी कामका विषयमा प्रकाश पार्नुभएको थियो ।

यसैबीच, आफ्नो जन्मस्थानलाई सम्झेर जिल्ला कार्यालय सचिव छविलाल विश्वकर्मा सामाजिक सञ्जालमा लेख्नुहुन्छ : बुबा आमाले दुख गरेर हुर्काएको ठाउँ, आज वास्तवमा फर्केर जान छाडियो, मन उहीँ छ, जहाँ मिठो हावा पानी ,बाबाआमाको नरम हातले कोतरेका पहाड, सानोमा घाँस दाउरा र बस्तु चराएका फाँटहरु । आज ती भेगहरुले हामीलाई खोजिरहेको छ तर हामीलाई फर्केर हेर्नसम्म फुर्सद छैन । जहाँ बुबाआमाले कहिले टेक्नुसम्म भएन त्यसैलाई आज हामी मेरो भनिरहेका छौ । यो सबैको जड के हो र अब के गर्नुपर्छ हामी सबैले खोजी गर्नु आजको गम्भिर आवश्यकता हो भन्ने कुरालाई आत्मसात गरेर पार्टीले सुरु गरेको अभियान सार्थक बन्नेछ ।’

Scroll to Top