झापाली आवाज

समृद्धिका लागि काम गर्न युवालाई अध्यक्ष थेवेको अह्वान

भद्रपुर । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले संगठनमा आबद्ध युवाहरुलाई देशको समृद्धिका लागि काम गर्न आह्वान गर्नुभएको छ ।

भदौ १० गते आइतबार भद्रपुरमा आयोजित राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष थेवेले युवाशक्ति राष्ट्र निर्माणको मेरुदण्ड भएकोले यो शक्तिलाई खेर फाल्न नहुने धारणा व्यक्त गर्नुभएको हो ।

संघका अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षतामा आयोजित अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि थेवेले अहिले युवावर्ग राजनीतिप्रति उदासिन बन्दै गएकोप्रति दुःख व्यक्त गर्दै देशको भाग्य र भविष्यको मुख्य आधारशीला युवा भएकोले राजनीतिबाट टाढा भाग्न नहुने सुझाव पनि दिनुभयो ।

राष्ट्रिय युवा संघ नेपालको सबैभन्दा ठूलो जनाधार भएको स्थापित जनसंगठन भएकोले यही संगठनमा गोलबद्ध भएर देश र जनताको हितका लागि काम गर्न उहाँले युवालाई आह्वान पनि गर्नुभयो ।

संघका सचिव अर्जुन बानियाँले सञ्चालन गरेको कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले झापाका उपससिचव एवम् जनसंगठन संयन्त्र प्रमुख असारु राजवंशीले मन्तव्य राख्दै राष्ट्रिय युवा संघमा आबद्ध युवाहरुलाई रचनात्मक गतिविधिमा अग्रसर हुन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा भएका गतिविधिका बारे चर्चा गर्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व पनि चयन गरेको छ ।

Scroll to Top