झापाली आवाज

समाजको रुपान्तरणमा सांस्कृतिक क्षेत्रको भूमिका महत्वपूर्ण : राष्ट्रियसभा सदस्य दाहाल

झापा । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले नेपाली समाजको रुपान्तरणमा सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।

नेपाली समाजका विभेद, उत्पिडन र निरङ्कुशता अन्त्यका लागि गीत, संगीत तथा सिर्जनाका क्षेत्रको महत्वपूर्ण योगदान रहेको उहाँको भनाई छ ।

झापाको कमल गाउँपालिकास्थित गेउरिया बजारमा जनसांस्कृतिक महासंघको संयोजनमा भएको सांस्कृतिक देउसी कार्यक्रममा संबोधनका क्रममा उहाँले सामाजिक सद्भाव र भाइचारा अभिवृद्धिका लागि सांस्कृतिक पक्षबाट बलियो योगदान रहेको प्रष्ट पार्नुभयो ।

तिहार पर्वले मानिसलाई पशुपञ्छी तथा प्रकृतिसँग समेत जोड्ने भएकाले यसका हरेक दिनको विशिष्ट महत्व रहेको नेता दाहालको भनाई छ ।

बहुसंख्यक नेपालीहरु चाडपर्वको उल्लासमा रमाइरहेका बेला जाजरकोट र रुकुम पश्चिमका नागरिक भूकम्पबाट प्रताडित भएको भन्दै उहाँले पिडीत परिवारलाई छिटोभन्दा छिटो बसोबासको व्यवस्था मिलाउन र राहत उपलव्ध गराउन सरकारसँग माग पनि गर्नुभयो ।

एमाले कमल गाउँकमिटी अध्यक्ष प्रेमबहादुर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य मेनुका काफ्ले पोखरेल, प्रदेशसभा सदस्य होमबहादुर थापा, प्रदेश कमिटी सदस्य बेनुप्रसाद शिवाकोटी, एमाले जिल्ला सचिव शिव ढुंगेल, कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी लगायतको आतिथ्यता थियो ।

कार्यक्रममा विभिन्न कलाकारहरुले गीत, नृत्य तथा सांस्कृतिक देउसी प्रस्तुत गरेको जनसांस्कृतिक महासंघ कमलका अध्यक्ष डम्बरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमाले तथा जनवर्गीय संगठनहरुले हरेक टोल तथा वडाहरुमा देउसीभैलो कार्यक्रम सञ्चालन गरिरहेका एमाले गाउँ कमिटी सचिव हरि ढकालले जानकारी दिनुभएको छ ।

Scroll to Top