झापा । नेकपा एमालेका पोटिलब्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीहरु अन्त्य गर्छु भनेर अभियान सुरु गरेजस्तो लागे पनि कसरी एमालेका नेताहरुलाई मुछ्न सकिन्छ कि भन्नेमा नै ध्यान केन्द्रित गरेको बताउनु भएको छ ।
प्रचण्डले विशेषतः आफ्नो पार्टीका मान्छेहरु र सत्ता गठबन्धनका मान्छेहरु संलग्न सुन काण्ड, ललिता निवास काण्डको छानविनलाई प्रभावित गरी ध्यान अन्यत्रै मोड्न यस्तो प्रयासमा लागिरहेको उहाँको भनाई छ ।
नेकपा एमाले झापा जिल्ला प्रचार तथा प्रकाशन विभागको आयोजनामा आज बिर्तामोडमा गरिएको प्रचार भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले भने, ‘संस्थागतरुपमा नेकपा एमाले भ्रष्टाचारको विरोधमा छ र भ्रष्टाचारको पोख्त प्रमाण जुटाएर दोषी प्रमाणित गरी कारवाही गर्दा आफूहरुको विमति रहँदैन । तर आरोप लगाउन र हिलो छ्याप्न पाइन्न ।’
नेपाली राजनीतिक जीवनमा अहिले भेटिने गरेका र धेरैले रुचाइएका व्यक्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भएको सुनाउँदै जिल्ला इन्चार्ज भट्टराईले समकालीन राजनीतिक नेताहरुमा उहाँ नै सर्वस्वीकार्य रहेको पनि बताउनु भयो ।
एमाले झापा जिल्ला प्रचार तथा प्रकाशन विभागका प्रमुख गोपाल काफ्लेको अध्यक्षतामा आयोजित प्रचारभेलामा प्रस्तुत कार्ययोजना र सहभागीका जिज्ञासा एवम् सुझावहरु सुनिसकेपछि प्रमुख वक्ताका रुपमा उहाँले यस्तो धारणा राख्नु भएको थियो ।
भेलाबाट प्राप्त सुझावहरु पार्टीको वृद्धि र विकासका लागि कार्यान्वयनमा लैजानैपर्ने महत्वपूर्ण रहेका जनाउँदै पोलिटब्युरो सदस्य भट्टराईले प्रेस चौतारी सम्बद्ध पत्रकारहरुले पनि पार्टीका समाचारहरुलाई खोजीखोजी स्थान दिन आग्रह गर्नुभएको थियो ।
सो भेलामा पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले पार्टी विरुद्ध आमसञ्चार माध्यमहरु र सामाजिक सञ्जालमा योजनावद्ध हमला भइरहँदा यसको प्रतिकारमा आक्रमक भएर उत्रनुपर्ने एमाले जनसंगठनहरु, प्रेस चौतारीका साथीहरु चुप लागेर बसेको बताउनु भयो ।
‘हामी डिफेन्समात्र गरिरहेका छौं, आक्रमक भएर निस्कन आवश्यक छ’ अध्यक्ष कार्कीले भन्नुभयो, ‘गलत सन्देश र अफवाहलाई चिर्दै पार्टीका नीति, निर्णय एवम् रचनात्मक कामको प्रचारमा लाग्न आवश्यक छ ।’
‘गिरीबन्धु टी स्टेटको हदवन्दी जमिन विषयमा भइरहेको चर्चाले एमाले र पार्टी अध्यक्षलाई केही असर गर्दैन, त्यो त प्रधानमन्त्री प्रचण्डको अन्य काण्डहरु ढिसमिस पार्ने हत्कण्डामात्र हो’ जिल्ला अध्यक्ष कार्कीले प्रष्ट पार्नुभएको थियो ।
उहाँले प्रचार विभागको कार्ययोजनालाई सार्थकरुप दिन जिल्ला कमिटी सदैव तत्पर रहने बताउँदै पार्टीको वडा तहसम्मका रचनात्मक कामहरु बारे आम मानिसलाई थाहा दिन जरुरी रहेको पनि सुझाव दिनुभयो ।
सो भेलामा पार्टीका प्रदेश कमिटीका सदस्यहरु माधव विद्रोही र गणेश पोखरेल, जिल्ला उपाध्यक्ष प्रेम गिरी, सचिव शिव ढुंगेलसहित २६ जनाले आफ्ना सुझावहरु राख्नु भएको थियो ।
प्रचार तथा प्रकाशन विभागका सचिव प्रदीप परियारले सञ्चालन गरेको सो कार्यक्रममा सहभागी सम्पूर्णलाई प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले शाब्दिक स्वागत गर्नुभएको थियो ।