झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंको अवसरमा सबै नेपालीहरुलाई सुख र समृद्ध प्राप्त होस् भन्दै शुभकामना दिनु भएको छ। अध्यक्ष ओलीले चाडवाडले सबैको परिवारमा खुशी र स्नेह प्रदान गर्ने धारणा राख्नु भएको हो ।
विगत वर्ष झैं बडादशैं, तिहार, छठ पर्वको अवसरमा अध्यक्ष ओलीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बडादशैंले सबैको परिवारको व्यवहार सुध्रियोस् भन्दै कामना पनि गर्नुभयो । उहाँले दशैंले आफन्तबीचको सम्बन्ध सुदृढ गर्ने र आशीर्वाद लिनेदिने काम गर्ने बताउनु भयो ।
विदेशी संस्कृतिहरुप्रति हाम्रो आकर्षण बढेको भन्दै ओलीले सचेत रहन समेत आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चाडवाडको अवसरमा शुभकाना दिदैं नेपाली नागरिकको जीवनमा सुख र खुशियाली ल्याउन सकोस् भन्ने कामना गर्नुभयो । वर्तमान गठबन्धन सरकारको अत्याचार विरुद्ध एक हुन उहाँले आव्हानसमेत गर्नुभयो ।
हरेक परिवारमा महंगीको असर गम्भीररुपमा परेको भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका उपाध्यक्ष पौडेलले देशलाई आर्थिक संकटबाट जोगाउनुपर्ने धारणा राख्नुभयो ।
शुभकामना आदानप्रदान कार्यक्रममा एमालेका नेता कार्यकर्ता, विभिन्न राजनीतिक दलहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, कांग्रेस झापाका सचिव कृष्ण हुँमागाई, माओवादी नेतृ धर्मशिला चापागाई, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नागरिक समाजका तर्फबाट डा. रामबाबु गिरीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नेकपा एमाले झापा जिल्ला कमिटीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा पार्टीलाई १० कठ्ठा जमिन निशुल्क सहयोग गर्ने डिल्ली सिटौलालाई अध्यक्ष ओलीले आफ्नो माला खोलेर पहिर्याउनु भएको थियो । यस्तै मेरो भ्वाइस युनिभर्सका विजेता प्रितम राईलाई पनि सम्मान गरिएको थियो ।
एमाले झापाका सचिव शिव ढुङ्गेलले सञ्चालन गर्नुभएको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा नृत्य, गीत प्रस्तुत गरिएको थियो ।