झापा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले भर्खरै सम्पन्न गरेको झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा अपेक्षाकृत सफल भएको बताउनु भएको छ ।
हिजो चिवाभञ्ज्याङमा अभियान सम्पन्न गरी आज काठमाडौं फर्कंदै गर्दा प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले संकल्प यात्रा कसैको विरुद्धमा नभएको दाबी पनि गर्नुभयो ।
संकल्प यात्रा, जनजागरणको यात्रा भएको बताउँदै उहाँले अभियान मार्फत वर्तमान सरकारका गलत कार्यको खबरदारीसमेत भएको अवगत गराउनु भयो ।
निर्वाचनमा मात्र दलहरु जनताको घर दैलोमा आउँछन् भन्ने जनताको गुनासोलाई यो अभियानले सम्बोधन गरेको वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाई थियो । उहाँले पार्टीलाई जनतासँग जोड्न यो यात्रा सफल रहेको दावी पनि गर्नुभयो ।
बैतडीको झुलाघाटबाट सुरु भएको संकल्प यात्रा १८ दिनपछि पाँचथरको चिवाभन्ज्याङमा समापन भएको थियो । यात्राका क्रममा जनताका विभिन्न गुनासोहरु सुन्ने अवसर प्राप्त भएको पोखरेलले बताउनु भयो ।
राजनीतिक हिसाबले जनतामा निरासा पैदा भइरहेको अवस्थामा उत्साह जगाउनसमेत यात्रा प्रभावकारी रहेको अभियानका दौरान देखिएको जनसहभागिताले पुष्टि गरेको उहाँको भनाई थियो ।
मध्य पहाडी क्षेत्रका जनताको अवस्था, जनजिविकाको सवाल, बसाँई सराई लगायत सम्भाब्यता अध्ययनका निम्ति ठूलो सफलता पाएको बताउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले चाँडै नै काठमाडौंमा समग्र अभियानको प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिनुभयो ।
प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले झापाका इन्चार्ज विशाल भट्टराई, झापाका अध्यक्ष दिपक कार्की लगायतको उपस्थिति थियो ।