सुनसरी । पुस माघको कठ्यांग्रिँदो शितलहरबाट आक्रान्त सुनसरीका जनतालाई नेकपा एमालेका सांसद भगवती चौधरीले न्यानो कपडा वितरण गर्नुभएको छ ।
गृहजिल्लामा जनतासँग साक्षात्कार गर्दै सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका गरिब, विपन्न, असहाय, दलित, मुसहर समुदायका नागरिकलाई शितलहरबाट बचाउन न्यानो कपडा वितरण गर्नुभएको हो ।
शुक्रबार बर्जु वडा नं. ४ का असहाय नागरिकलाई शितलहरबाट बचाउन सांसद चौधरीले ब्ल्याङ्केट, म्याट्रेसजस्ता सामग्री वितरण गरेको जनाइएको छ ।
नेकपा एमाले बर्जु वडा नं. ४ को भेलासमेत रहेको सो कार्यक्रममा बोल्दै सांसद चौधरीले समाज रुपान्तरण र समाजमा ब्याप्त गरिबी, असमानता र विभेद अन्त्य गर्ने एकमात्र पार्टी नेकपा एमाले भएको बताउँदै तराईका जनता शितलहरबाट आक्रान्त भइरहँदा राज्यले नदेख्नु दुर्भाग्य भएको जिकिर गर्नुभयो ।
सुनसरी क्षेत्र नं. ३ को विकासमा आफू सदैव लागिपर्ने बताउँदै उहाँले बर्जु, गढी गाउँपालिकाका भूमिहिन, गरिब, विपन्न नागरिकका जनतालाई आवास निर्माणमा आफूले पहल गरिरहेको पनि बताउनु भयो ।
केही समय अगाडि सो क्षेत्रका भूमिहिन नागरिकलाई घर बनाईदिन चुची फाउण्डेशनले स्थलगत अध्ययन गरेकोमा बर्जु र गढी गाउँपालिकासँग आवश्यक समन्वय भइरहेको समेत चौधरीले बताउनु भयो ।
सो क्रममा सांसद चौधरीले आफ्नो क्षेत्रमा भइरहेका विकास निर्माणका कार्यहरुको नियमन, अनुगमन गरेको जनाउँदै स्थानीय सरकार, प्रादेशिक सरकार र केन्द्र सरकारबाट प्राप्त योजना र विकास निर्माणका कार्यहरुमा भए गरेका प्रगतिको आफूले अनुगमन र मूल्यांकन गरिरहेको पनि जनाउनु भयो ।
सांसद चौधरीसँगै प्रदेश सभा सदस्य रामदेव यादव, बर्जु गाउँपालिका उपप्रमुख नितु चौधरी लगायतले पनि गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका थिए । सांसद चौधरीले यसअघि इटहरी उपमहानगरपालिका वडा नं. ८ हरिजनवस्ती, सोनापुरको मुसहरवस्तीमा पनि न्यानो कपडा वितरण गरेको जनाइएको छ ।