झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन ८४’ पार्टीको अर्जृनदृष्टि भएको बताउनु भएको छ ।
उहाँले आगामी आम निर्वाचनमा एमालेले एक्लै सरकार चलाउन पुग्नेगरी बहुमत ल्याउन ‘मिसन ८४’लाई अर्जुनदृष्टि बनाइरहेको बताउनुभयो ।
आज झापाको बिर्तामोडमा पार्टीको ११औं झापा जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्ता समीकरण देश विकासका लागि भएको पनि बताउनुभयो । ‘यसअघि नेकपा एमालेलाई एक्ल्याउन र अघि बढ्न नदिन कांग्रेसले स्वार्थको गठबन्धन गरेको थियो, एमालेले त्यो गठबन्धन तोडाएर नयाँ समीकरण बनाइएको’ उहाँको भनाई थियो ।
कांग्रेसको गठबन्धन भत्कनै पर्ने जनाउँदै पुरानो गठबन्धन भत्किएपछि एमालेले परिस्थिति सम्हालेको उहाँको भनाई थियो ।
कार्यक्रममा पार्टीको उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सल्लाहकार कमिटी अध्यक्ष अमृतकुमार बोहोरा, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र झापा इञ्चार्ज विशाल भट्टराईले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
एमाले झापाले विभिन्न कालखण्डमा जिल्ल पार्टीको नेतृत्व हाँकेका र योगदान पुर्याएका अग्रज नेताहरुलाई कदरपत्र प्रदान गरेको छ ।
सम्मानित हुनेहरुमा पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पार्टीका सल्लाहकार कमिटीका अध्यक्ष अमृतकुमार बोहोरा, झापा विद्रोहका अगुवा नेता नरेश खरेल, झापाको पहिलो पार्टी प्रमुख डिल्लीराम मैनाली, दोस्रो र चौथो पार्टी प्रमुख कालिदास श्रेष्ठ, अनेमसंघ झापाका पहिलो अध्यक्ष शोभा कुँवर मैनाली, पृथ्वीशोभा मैनाली, सुमित्रा प्रसाई, सावित्रा खड्का, मजदूर नेता अन्तलाल धिमाल, जानुका सिटौला सिवाकोटी लगायत हुनुहुन्छ ।
युवा वैज्ञानिक सबिन बाँस्कोटा, लाहा उद्योगी डम्बरकुमार विश्वकर्मा, झापा इनर्जीका सञ्चालक एलपी साँवा र तारा नमस्ते बालआश्रमका अध्यक्ष नारायणप्रसाद पोखरेल लगायत सम्मानित हुनु भएको छ ।
पार्टीका जिल्ला उपसचिव असारु राजवंशीले शाब्दिक स्वागत गर्नुभएको अधिवेशन उद्घाटन समारोहको सञ्चालन सचिव शिव ढुंगेलले गर्नुभएको थियो । अद्घाटन समारोहको अध्यक्षता कार्यवाहक जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीले गर्नु भएको थियो ।
जिल्ला अधिवेशनको उद्घाटन समारोहमा दुई दर्जनभन्दा बढी युवा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले प्रवेश गर्नुहुनेहरुमा नेकपा माओवादी केन्द्र मेचीनगरका सहइञ्चार्ज एवम् जिल्ला सदस्य प्रकाश खड्का सहित युवाहरु हुनुहुन्छ ।
एमाले झापाको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा खड्कालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले खादा र अबिर लगाएर एमालेमा स्वागत गर्नुभएको हो ।
खड्का माओवादी परित्याग गरेर आफ्नै पुरानो घर फर्किनु भएको हो । माओवादीमा जानु अघि उहाँ एमालेमै हुनुहुन्थ्यो । सो समारोहमा बिर्तामोडका दुई दर्जन युवाले पार्टी अध्यक्ष ओलीको हातबाट टिका र खादा लगाएर पार्टी प्रवेश गर्नुभएको हो ।