झापा । नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नीति, कार्यक्रम, दृष्टिकोण र कार्ययोजना प्रष्ट भएको बताउनु भएको छ ।
झापा जिल्ला कमिटीको आठौं पूर्ण बैठक आज मंगलबार उद्घाटन गर्नुहुँदै उहाँले अरु राजनीतिक दलहरुले एमालेको सिकोमात्र गर्ने हुन्, उनीहरुसँग कुनै मौलिक कार्यक्रम नै नभएको ठोकुवा पनि गर्नुभयो ।
‘अरु राजनीतिक पार्टीहरुसँग त केवल एमालेलाई गाली गर्ने बाहेक अरु केही नीति नै छैन, बरु एमाले पार्टीलाई सिध्याउँछौं भन्नेहरु आफैं सिद्धिने लाइनमा छन्’ अध्यक्ष ओलीको भनाई थियो ।
एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्न हामी एकतृत, संगठित, अनुशासित, सक्रिय एवम् विस्तारित हुनुपर्छ र मात्र पार्टी मजवुत हुन्छ भन्दै अध्यक्ष ओलीले झापा जिल्ला कमिटीको बैठकले गहन छलफल गरी कार्ययोजनाहरु कार्यान्वयन गर्नुपर्ने निर्देशन दिनुभयो ।
उहाँले जिल्ला कमिटी मातहतका सबै कमिटीहरु, जनसंगठन, जनवर्गीय संगठनहरु चुस्त दुरुस्त एवम् व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने दायित्व जिल्ला कमिटीको रहेको स्मरण गराउँदै पार्टीको सदस्य विस्तार एवम् संगठित गरेको अवस्थाका बारेमा बैठकमा गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टी अध्यक्ष ओलीले आफ्नो पार्टीलाई वैचारिक मतभेद नभएको पार्टीका रुपमा चित्रित गर्दै भन्नुभयो, ‘२०७८ साल अघिसम्म केही मतभेद थिए । २००८ सालदेखि सुरु भएका मतभेद ७० वर्षपछि २०७८ मा टुङ्गिएको थियो । पार्टीमा मिर्जाफर–मिर्कासिन प्रवृत्ति देखाएकाहरुले पार्टी टुक्राएर गएपछि यतिबेला वैचारिक मतभेद छैन ।’
‘हामीलाई अब कसैले हराउन सक्दैन । विगतमा आफैंले आफ्नै भित्रका तत्वहरुले सरकार पनि ढालेको हो । पार्टीभित्र त्यो प्रवृत्तिको अन्त्य हुनुपर्ने आजको आवश्यकता हो’ अध्यक्ष ओलीको भनाई थियो ।
जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षता एवम् सचिव शिव ढुंगेलको सञ्चालनमा झिलझिले स्थित वाटर किङडम पार्कमा बैठकको उद्घाटन गरिएको हो । भोलिको बैठक जिल्ला पार्टी कार्यालय बिर्तामोडमा बस्ने सचिव ढुंगेलले बताउनु भएको छ ।
बैठकका अध्यक्ष, पार्टी जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष गिरीले बैठकको कार्यसूचि प्रस्तुत गर्दै भोलि पाँचवटै निर्वाचन क्षेत्रीय कमिटीका संयोजकहरुबाट, १५ वटै पालिकाका इन्चार्जहरुबाट राजनीतिक रिपोर्ट प्रस्तुत हुनेछ भने कार्यालय सचिवले आर्थिक रिपोर्ट प्रस्तुति गर्ने जानकारी दिनुभयो ।
बैठकको अर्को कार्यसूचिमा फागुन २१ गते ५१औं सुखानी शहीद दिवसका सन्दर्भमा झापामा सप्ताहव्यापी कार्यक्रम गरी मनाउने विषयमा छलफल हुने, राजनीतिक वैचारिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र आगामी २०८१ जेठ मसान्तभित्र पार्टीका जिल्ला मातहत सबै तहका कमिटीको अधिवेशन गरिसक्ने सम्बन्धमा जिल्ला कमिटीमा गहन छलफल हुने कार्यवाहक अध्यक्ष गिरीले बताउनु भयो ।
जिल्ला कमिटीका उपसचिव असारु राजवंशीले बैठक उद्घाटन समारोहमा उपस्थित स्थायी कमिटीका सदस्यहरु हिक्मत कार्की, अग्नि खरेलसहित केन्द्रीय कमिटी सदस्यहरु, केन्द्रीय विभागका सदस्यहरु, केन्द्रीय आयोगका सदस्यहरु, प्रदेश कमिटीका अध्यक्ष, पदाधिकारी एवम् सदस्यहरुलाई शाब्दिक स्वागत गर्नुभएको थियो ।
भिडियो लिङ्क पनि छ :
https://fb.watch/q1-was90o3/?mibextid=2JQ9oc