झापा । नेकपा एमाले झापा जिल्ला कमिटीले पार्टी कामको सन्दर्भमा नेताहरुसँग आज बिर्तामोडमा परामर्श बैठक गरेको छ ।
पार्टी जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलको प्रमुख आतिथ्यमा परामर्श बैठक भएको हो ।
बैठकमा मूलतः नेकपा एमाले झापाको वर्तमान अवस्था, नेता नेतृत्वका जिम्मेवारीहरु, तिनको कार्यान्वयनको अवस्था, कार्यकर्ताले नेतृत्वप्रति गरेका अपेक्षा तथा आलोचनाहरुका विषयमा मसिनो गरी प्रस्तुत गरिएको थियो ।
निर्वाचनमा जनताका प्रतिनिधिहरु बनाएर पठाएका पार्टीका नेता कार्यकर्ताहरुको कार्यशैलीका बारेमा धेरै टिप्पणीहरु उठेका थिए । बैठकमा झापा जिल्ला कमिटी र सो मातहतका कमिटीलाई बढीभन्दा बढी सक्रिय बनाउन कस्तो योजनाहरु बनाउनु पर्छ र पार्टीलाई जनताको मनमा कसरी बसाइरहनु सक्ने बनाउन सकिन्छ भन्ने सन्दर्भमा वक्ताहरु केन्द्रित थिए ।
पार्टीका कार्यकर्ताहरुलाई चुनावमा उम्मेदवार बनाएर जिताए पछि सम्बन्धित कमिटीहरुको कुरा नसुन्ने प्रवृत्ति हावी भएकोमा जनप्रतिनिधिहरुको खुलेर आलोचना भयो । पार्टीको लगामभन्दा माथि जनप्रतिनिधि रहँदा मतदाताले अपनत्व महसुस गर्न नसकेको विषयलाई परामर्शमा समेटिएको थियो ।
सचिव शिव ढुंगेलले सञ्चालन गर्नुभएको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु र प्रदेश कमिटीका सदस्यहरुलाई उहाँहरुको परिभाषित क्षेत्रको जिम्मेवारीका विषयमा परामर्श मागिएको थियो ।
केन्द्रीय आयोग, विभाग, सल्लाहकार एवम् प्रदेश तथा जिल्ला कमिटीका सदस्यहरुले खुल्ला सत्रमा पार्टी कामको समीक्षात्मक धारणा राख्नु भएको थियो ।
बैठकमा प्रमुख अतिथि स्थायी कमिटीका सदस्य खरेलले आफ्नो कार्यशैलीको आत्मआलोचना गर्न सकियो भनेमात्र पार्टीको परिभाषित भूमिका निर्वाह गर्न सकिने अथ्र्याउँदै यो बैठक सार्थक बनेको बताउनु भयो ।
अरु राजनीतिक दलहरुभन्दा हाम्रा अभियानहरु जनतासँग प्रत्यक्ष जोडिएका छन् । तर हाम्रा कामहरु चाहिँ जनपक्षीय छन् कि छैनन् ? तिनको निर्मम समीक्षा गर्न ढिलाई गर्न नहुने नेता खरेलको सुझाव थियो ।
मानिसलाई गोलबन्द गर्नका लागि कुनै इश्यू महत्वपूर्ण हुनेमा हामी त्यसो गरिरहेका छौं या छैनौं ? पार्टीले जिताएर पठाएका जनप्रतिनिधिहरुले गर्ने काम पनि पार्टीको चिनारी हो भन्ने कुरालाई हामीले बिर्सियौं कि ! जस्ता कुरामा नेता खरेलले जोड थियो ।
समाजलाई माथि उठाउने हो भने हाम्रो समुदायका अल्पसंख्यक जाति र समुदायको उन्नतिका लागि काम गर्नुपर्छ, सम्मानजनक बाँच्ने आधार सिर्जना गरिदिनु पर्छ भन्ने कुराले समाजवादको यात्रा तय गर्ने उहाँको भनाई थियो ।
बैठकमा सहभागी पार्टी नेतृत्वहरुको सुझाव ग्रहण पछि अध्यक्षीय मन्तब्य राख्नु हुँदै कार्यवाहक अध्यक्ष गिरीले चालू जिल्ला कमिटीको बाँकी अवधिबाटै यसको कार्यान्वयनका लागि काम सुरु गर्ने बताउनु भयो ।
आगामी सचिवालय बैठक एवम् जिल्ला कमिटीको बैठकमा यी सुझावहरु व्यवहारिकरुपमा कार्यान्वयन गर्न सुरु गरिने उहाँले विश्वस दिलाउनु भयो । अघिल्लो नेतृत्वले दिएको विरासतलाई उचाईमा लैजानु आफूहरुको कर्तब्य हुनेछ तर कमजोर बनाउने छुट हामीलाई छैन भन्दै उहाँले वैचारिक कामको लागि सकेसम्म कार्यान्वयनमा लगिने आश्वासन दिनुभयो ।
आगामी जेठभित्रमा जिल्ला, नगर र वडा अधिवेशनहरु सम्पन्न गर्ने अभिभारा पूरा गर्न आफूहरु सक्रियतापूर्वक जुट्ने बताउँदै कार्यवाहक अध्यक्ष गिरीले आज प्राप्त सुझावहरुलाई सम्पत्तिको रुपमा ग्रहण गर्दै नेतृत्वले दिएको निर्देशनलाई हामी कार्यान्वयन गर्नेछौं भनी आश्वास्त पार्नुभएको थियो ।