झापाली आवाज

पाँचथरका बाढी पिडीतलाई युवा संघ नेपाल झापाका युवाको चामल

झापा । पाँचथरमा बाढी र पहिरोका कारण विस्थापित भएका परिवारलाई नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालले खाद्यान्न राहत वितरण गरेको छ ।

‘विपत्तिको घर युवा संघको भर’ भन्ने मूल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला कमिटीको सहजीकरण, झापाकै स्थानीय पालिका र व्यवसायीहरुको सहयोगमा १२४ बोरा चामल पीडित परिवारलाई वितरण गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल झापाका संयोजक फुर्बा लामा नेतृत्वको प्रतिनिधिमण्डल राहतका सामग्री बोकेरै बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुगेको थियो । पाँचथरका विभिन्न स्थानमा उहाँहरुले राहतका सामग्री प्रदान गर्नुभएको हो ।

याङवरक गाउँपालिका वडा नं १ र २ का १०६ घरका विस्थापित परिवारलाई राष्ट्रिय युवा संघले अस्थायी बासस्थलमै पुगेर प्रतिपरिवार एक–एक बोरा चामल प्रदान गरेको राष्ट्रिय युवा संघ नेपाल झापाका संयोजक लामाले बताउनु भयो ।

उहाँका अनुसार गएको असार २ गते हेवा खोलामा आएको बाढीले बगाएर र पहिरो झरेर सो ठाउँका १०६ घर परिवार पूर्णरुपमा विस्थापित भएका थिए ।

राहात वितरण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सागर पोर्तेल, खगेन्द्रराज आन्दम्बे, कोशी प्रदेश सदस्य रघु धिमाल, जिल्ला सदस्य मेरुन योङ्गहाङ्ग, सरोज मेहेरा, सुरेन राई लगायत पाँचथर जिल्ला कमिटीको सहभागिता थियो ।

पाँचथरमा असार २ गतेको बाढी र पहिरोले सबैभन्दा धेरै क्षति पुर्याएको स्थानमा राहत वितरण गरिएको राष्ट्रिय युवा संघका केन्द्रीय सचिव अनिता कन्दङवाले बताउनु भयो ।

तत्कालको लागि पीडितलाई खानामा समस्या नहोस् भन्नका लागि राहत उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

पहिरो तथा बाढी प्रभावित क्षेत्रमा स्वच्छ पिउने पानीको सबैभन्दा ठूलो समस्या रहेको राष्ट्रिय युवा संघ नेपाल झापाका संयोजक लामाले बताउनु भयो ।

पार्टीका नेता कार्यकर्ता र झापाका केही राइस मिलहरूले स्वेच्छाले दिइएको नगद तथा जिन्सी संकलन गरेर पीडितलाई राहत उपलब्ध गराएको राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला कमिटीले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top