झापा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्रीत्वको वर्तमान सरकारले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी ऐन बनाएर सशस्त्र द्वन्द्वमा पिडीतका परिवारले विगत १७ वर्षदेखि गरेको अपेक्षालाई सम्बोधन गरेको बताउनु भएको छ ।
नेकपा (एमाले) झापा जिल्ला कमिटीले आज बिहीबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो ।
आफ्नो मन्तब्यका क्रममा उहाँले विगत १७ वर्षदेखि थाँती रहेको शान्ति प्रक्रियाको एउटा मूलभूत कार्य वर्तमान सरकारले १०० दिनको अवधि भित्रै पूरा गरेको बताउनु भएको हो।
सरकारको समीक्षा गर्न १०० दिनको अवधि अत्यन्त थोरै हो तर पनि सकारात्मक काम गरेर ओली नेतृत्वको सरकारले जनताको मन जितेको उहाँको भनाई छ ।
वर्तमान सरकारले व्यवसायीमा भरोषा बढाइदिएको बताउँदै उपमहासचिव ज्ञवालीले सोको उदाहरणका रुपमा पूँजी बजार अर्थतन्त्रमा आएका सुधारलाई उधृत गर्नुभएको छ।
पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा आयोजित सो कार्यकर्ता भेलामा उहाँले झापा जिल्लाको समसामयिक राजनीतिक अवस्थितिका बारेमा प्रकाश पार्दै उपमहासचिव समक्ष एमाले कार्यकर्ताहरुले पार्टी विरुद्ध आउने समस्या चिर्न कस्तो भूमिका खेल्नुपर्छ भनी प्रकाश पारिदिन आग्रह गर्नुभएको थियो ।
‘हिजोआज सामाजिक सञ्जालमा एमालेका विरुद्ध भ्रामक सन्देश जाने सूचनाहरु प्रवाहित भइरहेको सन्दर्भमा आफूहरु र पार्टी कार्यकर्ताहरुले पार्टीप्रतिको हमलाका विरुद्ध कहिलेदेखि प्रतिकार गर्ने, कसरी गर्ने उपमहासचिवबाट प्रष्ट निर्देशनको माग गर्दछु’ जिल्ला अध्यक्ष गिरीले हलको आवाज मुखरित गर्नुभएको थियो ।
यस्तै स्वागत मन्तब्य राख्नु हुँदै जिल्ला कमिटीका उपाध्यक्ष शिव ढुंगेलले उपमहासचिव समक्ष राष्ट्रिय राजनीतिमा वर्तमान अवस्था, पार्टी कार्यकर्ताको भूमिकाका सम्बन्धमा प्रकाश पारिदिन आग्रह गर्नुभएको थियो ।
‘अहिले पार्टी कार्यकर्ताहरु अलि भुत्ते हुँदै गएको हो कि भन्ने लागिरहेको बेला उपमहासचिव झापा आउनु भएको अवसर पारेर जिल्ला, नगर, गाउँ तहसम्मको नेतृत्वलाई स्पातिलो बनाउन भेला आयोजना गरिएको’ उपाध्यक्ष ढुंगेलले प्रष्ट पार्नुभयो ।
अध्यक्ष गिरी र उपाध्यक्ष ढुंगेलसहित कार्यकर्ताहरुले सोधेका दर्जनौं जिज्ञासाहरु उपमहासचिव ज्ञवालीले प्रष्ट् पार्नुभएको थियो । उहाँले पार्टीको जिम्मेवार तहमा रहेका कार्यकर्ताहरुलाईबायोडाटामा जिम्मेवारी देखाउन मात्र कमिटीमा नबसेर जिम्मेवारी लिएको पदमा रहेर तोकिएको काम गर्नका लागि प्रष्टसँग निर्देशन गर्नुभयो ।
‘संसदीय राजनीतिक प्रणालीमा टिकट पाउन र उम्मेदवारी दिन पनि पार्टीमा पदीय जिम्मेवारी देखिनु पर्छ भन्ने कुरालाई मात्र सम्झेर कोही कसैले पदलाई उपयोग नगरोस्’ उपमहासचिव ज्ञवालीले भन्नुभयो ‘नेताहरु स्वप्नद्रष्टा हुन सक्नुपर्छ र निर्वाचनहरुमा नेतृत्वदायी भूमिका निर्वाहा गर्न सक्ने हुनुपर्छ ।’
पछिल्लो समय सामाजिक सञ्जालमा पार्टी विरुद्ध अफवाह फैलाइएको विषयमा त्यसलाई चिर्न सत्य के हो त्यो कुरा १–२ जनाले लेखेर अपलोड गर्ने अनि सयौंले सेयर गर्ने गरियो भने अफवाह लुक्छ र यथार्थमात्र धेरैको माझ पुग्नेकुराको जानकारी राख्न उहाँले आग्रह गर्नुभयो ।
आज आमसञ्चार माध्यमहरुभन्दा छिटो सामाजिक सञ्जालमा सूचनाहरु प्रवाह भइरहेकाले सबै मानिस स्वयम् रिपोर्टर, पत्रकार, भिडियो ग्राफर भएका छन् । यसैले कुनै पनि विषयमा हामीले सूचना प्रवाह गर्न र सकारात्मक सन्देश दिन ढिला गर्न नहुने उहाँको सुझाब छ ।