झापाली आवाज

नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशनमा कहाँबाट कति प्रतिनिधि ? समुद्घाटनमा को को व्यक्ति–व्यक्तित्व सम्मानित हुँदै

झापा । नेपाल कम्युनिस्ट पार्टी एमाले झापा जिल्ला कमिटीको बिहीबारदेखि हुने ११औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ।

बिर्तामोडस्थित अग्रसेन भवनमा चैत १५ गते दिउँसो ११ बजे पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि अग्रसन भवनमा हलको सजावटसहित व्यवस्थापनको काम सम्पन्न भइसकेको छ भने निर्वाचन समितिसहितको सचिवालय स्थापना गरिसकिएको छ।

अधिवेशनका लागि १५ वटै पालिकाका १३१ वटा वडासहित विभिन्न जनसंगठनहरूबाट प्रतिनिधिहरू चयन भइसकेका छन् ।

प्रतिनिधि व्यवस्थापन उपसमितिका अनुसार गाउँ नगरको भूगोलबाट ४५८ जना प्रतिनिधि छानिनु भएको छ भने विभिन्न जनसंगठनहरूबाट ८९ जना, मजदुर क्लस्टरबाट ३० जना, झापा–काठमाडौँ सम्पर्क मञ्चबाट ५ जना प्रतिनिधिहरुले अधिवेशनमा सहभागी हुनुहुनेछ ।

यस्तै अधिवेशन आयोजक जिल्ला कमिटीका पदाधिकारी सदस्यहरू १६७ जना, लेखा परीक्षण कमिटीका ७ जना र जिल्ला सल्लाहकार परिषद्का २५ जना गरी ७८१ जनाको प्रतिनिधित्व सुनिश्चित भइसकेको छ । माथि उल्लेखित अंकको करिब ५ प्रतिशत प्रतिनिधिहरू मनोनित गर्ने व्यवस्था भएपनि यो समाचार तयार पार्दासम्म उक्त कार्य भएको छैन ।

कहाँबाट कति प्रतिनिधि ? (हेर्नुस् तालिका)

को को व्यक्ति–व्यक्तित्व सम्मानित हुँदै

पार्टीका जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्लेका अनुसार जिल्ला अधिवेशन उद्घाटनको अवसरमा दुई दर्जन व्यक्ति–व्यक्तित्वहरूलाई सम्मानित गरिनेछ । उहाँका अनुसार नेकपा एमाले झापालाई आजको अवस्थासम्म ल्याउन योगदान गर्नुहुने, पूर्व जिल्ला प्रमुखहरू डिल्लीराम मैनाली (विनोद) काठमाडौँ, कालिदास श्रेष्ठ (चिन्तन) गौरादह ५, अमृतकुमार बोहरा काठमाडौँ ३, मनकुमार गौतम बिर्तामोड १, नरेश खरेल बिर्तामोड ५ र देवीप्रसाद ओझा काठमाडौँलाई कदरपत्र प्रदान गरिनेछ ।

यसैगरी झापाको महिला आन्दोलनमा अग्रणी भूमिका खेल्नुहुने नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौँ ३, अनेम सङ्घ झापाको संस्थापक जिल्ला अध्यक्ष शोभा कुँवर काठमाडौं र पृथ्वी शोभा मैनाली काठमाडौँलाई पनि कदरपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिनेछ।

यसैगरी पार्टी जीवनमा लामो समय व्यतित गरेका र हाल पनि सक्रिय रहेको ७० वर्षभन्दा माथि उमेरका अग्रजहरु सुमित्रा प्रसाई दमक १, सावित्रा खड्का, मेचीनगर ६ र जेष्ठ कम्युनिस्ट एवं ट्रेड युनियन कर्मी अन्तलाल धिमाल दमकलाई कदर पत्र प्रदान गरी सम्मान गरिनेछ।

यस्तै, जिल्लाका स्थानीय कमिटीहरुमध्ये तत्कालीन समयमा निर्वाचित भई महिलाले नेतृत्व गरेको खुदनाबारी गाउँ कमिटीको तत्कालीन सचिव जानुका सिटौला शिवाकोटी (काठमाडौँ)लाई सम्मान गरिने तय भएको छ ।

नेकपा एमाले झापाले एघारौँ जिल्ला अधिवेशनको अवसरमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको हातबाट झापाका दुईवटा उत्कृष्ट संस्थाहरू झापा इनर्जी लिमिटेड र तारा नमस्ते बालग्रामलाई प्रशंसापत्र प्रदान गरिने सम्मान उपसमितिका संयोजक खेमप्रसाद मिश्रले जनाउनु भएको छ ।

यसैगरी लाहा उत्पादक किसान गौरादह २ हाँसखोरका डम्बरबहादुर विश्वकर्मा, दुग्ध उत्पादक किसान दमकका सुदिप गौतम, विभिन्न मेसिनरी सामान जोडेर जहाजको डेमो बनाई उडाउने उत्कृष्ट प्रतिभा बुद्धशान्तिका युवा विद्यार्थी सविन बाँस्कोटा र गीत संगीतको क्षेत्रमा अब्बल प्रतिभा गायिका मेनुका पौडेललाई सम्मानित गरिने तय भएको मिश्रले जानकारी दिनु भएको छ ।

यसैगरी नेकपा एमाले झापाको कार्यालय भवन रहेको जग्गामध्ये १ कठ्ठा दान गर्नुहुने पुराना कम्युनिस्ट नेता नन्दकुमार प्रसाई र अब बनाइने नयाँ भवनको लागि ५–५ कठ्ठा गरी १० कठ्ठा दान गर्नुहुने डिल्लीराम सिटौला र उहाँकी छोरी बिनादेवी सिटौला दंगाललाई कदरपत्र प्रदान गरिने भएको छ ।

अधिवेशनको कार्यतालिका अनुसार चैत १५ गते उद्घाटन समारोह, १६ गते बिहान बन्दसत्र सुरु गरी प्रतिवेदन पास गरेपछि साँझसम्ममा नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयन, १७ गते सर्वसम्मतिको प्रयास र १८ गते चुनाव गर्ने तयारी रहेको जनाइएको छ ।

Scroll to Top