काठमाडौं । नयाँ सत्तासमीकरणलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्दै १५ बुँदे प्रस्ताव पारित गरेर नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन परिषद् बैठक आइतबार राति सकिएको छ ।
गत २१ फागुनमा बनेकोे नयाँ समीकरणप्रति सन्तुष्टि व्यक्त गर्दै त्यसलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्दै बैठक सकिएको हो ।
उपमहासचिव विष्णु रिमालले पाँच दलले जारी गरेको गरेको साझा संकल्प तथा कार्यक्रमले मुख्य समस्या सम्बोधन गर्न र मुलुकलाई अघि बढाउन तालिकाबद्ध र प्रभावकारी रूपमा कार्यान्वयन गर्न बैठकले आग्रह गरेको बताउनु भयो ।
बैठकले दलहरूबीचको नयाँ समीकरणलाई कमजोर बनाउने कुनै काम नगर्न र मुलुकलाई थप अस्थिर र अन्योलतर्फ धकेल्ने कामप्रति सजक रहन तथा राष्ट्रियता लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पर्ने काम हुन नदिन आह्वान पनि गरेको छ ।
परिषद् बैठकले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिको निर्माण गर्ने १२ बुँदे कार्ययोजना पास गरेको छ । आगामी २०८४ को निर्वाचनमा पार्टीलाई निर्णायक बलियो राष्ट्रिय शक्ति स्थापित गर्न १२ बुँदे कार्ययोजना बैठकले पास गरेको हो ।
पार्टीको संगठनात्मक ढाँचालाई चुस्त र दुरुस्त बनाउने, सदस्यता नवीकरण तथा सदस्यता विस्तार, पार्टी स्कूलको कामलाई वार्षिक कार्ययोजना बनाई व्यवस्थित गर्ने, प्रचारको कामलाई थप प्रभावकारी बनाउने विषय कार्ययोजनामा समेटिएका छन् ।
त्यस्तै, जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने, पार्टी कार्यालय व्यवस्थापन गर्ने, अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप माथि नियन्त्रण गर्ने, राष्ट्रिय हित र जनसरोकारका मुद्दा आधारित जनपरिचालन गर्ने, नयाँ पुस्ताका बीचमा पार्टी कामलाई प्रभावकारी बनाउने, कार्यकर्ता व्यवस्थापन, प्रवासको पार्टी काम विस्तार र केन्द्रीय कार्यालय भवन निर्माणको विषयसमेत समेटिएको कार्ययोजना पास भएको हो ।
‘पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा विकास गर्ने उद्देश्य अनुरूप पार्टी केन्द्रीय कमिटीको सातौँ बैठकले पार्टी निर्माणका सन्दर्भमा तीन विशेष एजेन्डामा छलफल अघि बढाएको थियो । पहिलो, शुद्धीकरण र सुदृढीकरण, दोस्रो, जनआधारित कार्यकर्ता पार्टी निर्माणका सन्दर्भमा र तेस्रो, राष्ट्रिय हित र जनसरोकारका विषयमा जनपरिचालन गर्ने सन्दर्भमा आगामी कार्ययोजनाले उपरोक्त विषयलाई गहिरो गरी आत्मसात गर्नुपर्ने निर्णय गरिएको हो ।
मिसन ग्रासरुट र समृद्धिका लागि संकल्प यात्राको सफलताले पार्टीपंक्ति योजनाबद्ध रूपमा परिचालित हुने हो भने सफलता सुनिश्चित छ भन्ने देखाएको पनि बैठकले निश्कर्ष निकालेको छ । तर, काम गराई भने अभियानमुखीजस्तो बन्न पुगेको उसको ठहर छ ।
‘जसबसम्म हामीले पार्टीको नियमित कामलाई नै प्रभावकारी बनाउन सक्दैनौँ, तबसम्म बलियो र निर्णायक शक्तिका रूपमा पार्टीलाई सुदृढ गर्ने उद्देश्य पूरा हुँदैन । तर्सथ अब हाम्रो ध्यान नियमित संगठनात्मक ढाँचाबाट निर्णायक भूमिकामा पार्टीलाई स्थापित गर्ने गरी अहिलेदेखि नै तयारीको काममा जुट्नुपर्दछ’ बैठकको निश्कर्षमा भनिएको छ ।