झापाली आवाज

द्रोणाचार्यका समकालीन कम्युनिष्ट नेता भट्टराईको निधन

कचनकवल । प्रगतिशील विचार राख्दै पञ्चायत विरूद्ध दक्षिणी झापामा जागरण अभियानसमेत सञ्चालन गर्ने ७१ वर्षीय इन्द्रप्रसाद भट्टराईको गएराति १ बजे उपचारका क्रममा विराटनरस्थित नोवेल मेडिकल कलेजमा निधन भएको छ ।

वि. सं २००९ साल पौषमा ओखलढुंगा जिल्लाको साविक सेर्ना गाविस ५ सेर्नाबेँसीमा जन्मिनु भएका इन्द्रप्रसाद वि. सं २०२५ सालदेखि दक्षिणी झापाको साविक पथरिया १ डाँगीबारीमा स्थायी बसोवास गर्दै आउनु भएको थियो ।

जनप्रिय कम्युनिस्ट नेता स्वर्गीय द्रोणचार्य क्षेत्रीका निकट समकालिन व्यक्तिका रूपमा परिचित उहाँ झापाको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका पिता हुनुहुन्थ्यो ।

नेकपा एमाले कचनकवल गाउँ कमिटीले आफ्ना अभिभावक नेता गुमाएको स्मरण गर्दै स्वर्गीय भट्टराईको पार्थिव शरीरमा झण्डा ओडाएर दाहसंस्कार स्थलमा नै शोकसभा गरेको छ । उहाँका छोरा नवराज पार्टीको गाउँ कमिटी अध्यक्ष पनि हुनुहुन्छ ।

स्वर्गीय भट्टराईका दुई छोरा योगेन्द्रहरि, नवराज तथा दुई छोरी विजया र रमा छन् । स्वर्गीय भट्टराईको स्थानीय जमुना खोलामा आजै दिउँसो अन्त्यष्टि गरिएको हो ।

 

Scroll to Top