लतिलपुर । नेकपा एमालेले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवार दिने भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा १९ वटै सिटमा मनोनयन दर्ता गर्ने निर्णय गरेको हो ।
पार्टीका महासचिव शङ्कर पोखरेलले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उक्त बैठकमा सातवटै प्रदेश कमिटीबाट आएका सिफारिसलाई ‘कलस्टर’ अनुसार प्रारम्भिक छलफल गरिएको बताउनुभयो ।
एमालेले एक महिलासहित प्रत्येक प्रदेशबाट तीनजनाको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको थियो ।
“सिफारिस भई आएका उम्मेदवारका नाम कलस्टर अन्तर्गत पर्ने नपर्ने र प्रमाणित हुने नहुने भन्ने विषय स्पष्ट भएर उम्मेदवारी दर्ताको तयारी गरेका छौँ” महासचिव पोखरेलले पत्रकारहरुमाझ भन्नुभयो ।
यसैगरी बैठकले छ जना नेताहरुलाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ । प्रदेश अधिवेशनपछि निवर्तमान प्रदेश अध्यक्षलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिनुभयो ।
महासचिवका अनुसार कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, मधेस प्रदेशको रामअवतार यादव, बागमती प्रदेशबाट केशवराज पाण्डे, कर्णाली प्रदेशको विनोद शाह र सुदूरपश्चि प्रदेशको दामोदर भण्डारीलाई केन्द्रीय कमिटीमा मनोनित गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्लाका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।