धुलिखेल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घृणा र विद्वेष फैलाउने कुरा कहिल्यै पनि जायज हुन नसक्ने बताउनु भएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत मङ्सिर २४ गते आइतबार साँझ काभ्रेको धुलिखेल पुग्नुभएका अध्यक्ष ओलीले यस्तो धारणा राख्नुभएको हो । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार एलाइन्सले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै जात विशेषले यो मेरा जातको राज्य हो भन्न नहुने बताउनुभएको हो ।
देश कुनै जात विशेषको नहुने बताउँदै अध्यक्ष ओलीले नेपाल विविधता बीचको एकताको मुलुक भएको प्रष्ट पार्नुभयो । कुनै जात वा समुदाय विशेषको कुरा गर्दा देश अघि बढ्ने नभई ढुङ्गे युगतिर नै फर्कने उहाँको धारणा थियो ।
जातको आधारमा हुने सबै खालका विभेद अन्त्य हुनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । उहाँले भन्नुभयो– आपसमा घृणा र विद्वेष फैलाउने कुरा कहिल्यै पनि जायज हुन सक्दैन ।
नेपालमा विकास गर्न सकिने र नेकपा एमालेले गरेर देखाउने अध्यक्ष ओलीको दावी छ । माओवादीले आन्दोलनका लागि जातीय राज्यको हुँडलो मच्चाएको उहाँको भनाई थियो । हिंसा भड्काउने र घृणा फैलाउने खालका कुरा रोक्नुपर्ने ओलीको भनाई छ ।
अध्यक्ष ओलीले ढुङ्गा हान्ने कुरा मानव अधिकारभित्र नपर्ने पनि प्रष्ट्याउनु भयो । उहाँले भन्नुभयो– त्यसैले ढुङ्गा हान्ने कुरा होइन बसेर छलफल गरौँ । उहाँले देशभक्तिपूर्ण बाटोमा लाग्न सबैलाई आग्रह पनि गर्नुभयो ।