झापाली आवाज

कोशीमा सत्ता गठबन्धनको बल मिच्याइँ : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले कोशी प्रदेशमा फोहोरी खेल खेलेको बताउनु भएको छ ।

आज आइतबार विराटनगरमा नेकपा एमाले कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशीमा गठबन्धनले फोहोरी खेल खेले पनि केन्द्र यसका नेतृत्वहरू मौन रहेको पनि सुनाउनु भएको छ ।

लोकतन्त्र र लोकतान्त्रिक अभ्यास विरूद्ध प्रदेशमा बलमिच्याइँ भइरहँदा केन्द्रीय नेतृत्व मौन बस्नु आश्चर्यजनक रहेको अध्यक्ष ओलीको टिप्पणी छ ।

‘गठबन्धनको नाममा पटकपटक लोकतन्त्र र लोकतान्त्रिक अभ्यास विरुद्ध काम भइरहेको छ, बलमिच्याइँ गरेर फोहोरी राजनीति गरिरहेका छन् । तर, केन्द्रको गठबन्धन चुपचाप देखिन्छ’ अध्यक्ष ओलीको भनाई थियो ।

सर्वोच्चले नै अवैध ठहर गरिसक्दा पनि नछाड्नुले गठबन्धन जुनसुकै हालतमा प्रदेशको सत्ता कब्जा गर्न लागिपरेको पुष्टि हुने अध्यक्ष ओलीको दावी छ।

‘अदालतले सरकार गठन अवैध भनिसकेको छ त्यही पनि उनीहरु अझै यसलाई स्वीकार्न तयार देखिँदैनन्’, अध्यक्ष ओलीले भन्नुभयो ‘‘गठबन्धन प्रदेशमा सत्ता कब्जा गर्न लागेको छ।’

गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको बताउँदै सबै जातजाति मधेशी, दलित, थारु, लिम्बूवान, किराँत, शेर्पा सबैले न्याय पाउनुपर्ने उहाँको भनाई छ ।

Scroll to Top