झापाली आवाज

एमाले समाजवाद प्राप्त गर्ने लक्ष्यका साथ अघि बढेको पार्टी : महासचिव पोखरेल

मकवानपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले समाजवाद प्राप्त गर्ने लक्ष्यका साथ अघि बढेको पार्टी भएको बताउनु भएको छ ।

बुधबार हेटौंडामा एमाले जिल्ला कमिटीको ११औँ बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।

एमाले समाजवाद प्राप्त गर्ने लक्ष्यका साथ अघि बढेको पार्टी भएकाले समाजको आर्थिक र सामाजिक क्षेत्रको विकास गर्न अगाडि बढ्नुपर्ने महासचिव पोखरेलको भनाई छ ।

महासचिव पोखरेलले जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने गरी पार्टीको कामलाई समुदाय स्तरमा लैजान मातहत कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । उहाँले पार्टीको संगठन र कार्यकर्ता जनतासँग जोडिएर उहाँहरुको जीवनमा परिवर्तन ल्याउन सक्रियता देखाउनुपर्ने समेत बताउनु भयो ।

एमाले सरकारमा हुँदा जनहितको पक्षमा महत्वपूर्ण काम सुरुवात गरे पनि अहिलेको सरकारले यसलाई कटौती गर्दै गइरहेको उहाँको दावी थियो ।

अहिलेको सरकार सत्ता टिकाउन मात्र केन्द्रित रहँदा जनताको जीवनस्तरमा परिवर्तन ल्याउन कुनै नयाँ कामलाई अघि सार्न नसकेको महासचिव पोखरेलले बताउनु भयो । उहाँले एमाले कार्यकर्तालाई एमाले सरकारको पालोमा भएको राम्रा कामको खोजी र प्रचार गर्न निर्देशन दिनुभयो ।

उहाँले पार्टीले हालै सम्पन्न गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा सफल भएको समेत सुनाउनु भयो । महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सम्पन्न संकल्प यात्रालाई जनस्तरबाट स्वागत भएको र पार्टीमा जनलहर देखिएको बताउनु भयो । संकल्प यात्रा आफ्नो उद्देश्य प्राप्तिमा सफल भएको महासचिव पोखरेलको भनाइ थियो ।

आजबाट सुरु भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बागमती प्रदेश कमिटी र जिल्ला कमिटीका गरी ४० जनाको सहभागिता रहेको छ ।

शुक्रबारसम्म जारी रहने प्रशिक्षक प्रशिक्षणमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले माक्सवादी दृष्टिकोण, संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले संगठन निर्माण, व्यवस्थापन तथा परिचालन सम्बन्धी सहजीकरण गर्नुहुनेछ ।

यस्तै, स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पार्टी र जनसंगठन बीचको अन्तरसम्बन्ध र परिचालन, स्थायी कमिटी सदस्य राजन भट्टराईले भू राजनीतिक र परराष्ट्र सम्बन्धका बारेमा प्रशिक्षण दिनुहुनेछ ।

स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईञ्चार्ज गुरु बरालले समृद्व नेपाल र सुखी नेपाली, पोलिटव्यूरो सदस्य तथा मकवानपुर ईञ्चार्ज देवी ज्ञवालीले समृद्व मकवानपुर सम्बन्धी अवधारणा माथि प्रकाश पार्नुहुनेछ ।

यस्तै, पोलिटव्यूरो सदस्य ईश्वरी रिजालले मिसन ८४ को कार्यभार, पोलिटव्यूरो सदस्य कैलाश ढुंगेलले पार्टी र जनप्रतिनिधि बीचको अन्तरसम्बन्ध, बालकृष्ण देउजाले सूचना प्रविधि प्रयोग र महत्व र प्रशिक्षण शैलीबारे प्रशिक्षण दिनुहुने एमाले मकवानपुरले जनाएको छ ।

Scroll to Top