काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले विरुद्ध सत्ता गठबन्धन निर्लज्ज रूपमा प्रस्तुत भएको बताउनु भएको छ।
सोमबार काठमाडौंमा आयोजित जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले एमालेलाई लगाएको आरोप गलत साबित हुँदा माफी माग्नुको सट्टा अझ निर्लज्ज रूपमा माओवादी प्रस्तुत भएको बताउनु भएको हो ।
एमालेका नेताले कानुन विपरीत काम गरेको भए कानुन अनुसार दण्डको भागिदार हुने बताउँदै उहाँले ‘तर फत्तुर लगाउनेहरूले पातकीहरूले त्यसको जवाफ दिनु पर्छ कि पर्दैन ? त्यो फत्तुर लगाउनेले त्यसको जवाफ अनिवार्य दिनुपर्छ’ भन्नुभयो ।
एमालेलाई जनताले अडिट गरिहरेको बताउँदै त्यो कुरामा ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नागरिकको नजरमा गिर्ने कुनै पनि गतिविधि एमालेजनले गर्न नहुने उहाँले कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो ।
एमालेका प्रतिनिधिहरू सामाजिक कुरीति, भेदभाव र कुप्रथाको विरुद्धमा प्रतिबद्ध भएर उभिनु पर्ने सुझाउँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले हिजो केही तल बितल भएको रहेछ भने भने त्यसलाई सुधारेर अघि बढ्नु पर्ने सुझाव दिनुभयो ।
अहिले समाजमा अराजकता निम्त्याउने र अविश्वास सिर्जना गर्ने झुण्ड रहेको बताउँदै पोखरेलले भन्नुभयो, ‘यो सामाजिक अराजकताको विरुद्धमा खबरदारी गर्नुपर्ने जरुरी छ।’
कोशी प्रदेशमा पहिचानको नाममा माओवादीले जातीय विद्वेषको आगो झोस्ने काम गरेको पोखरेलको आरोप छ । माओवादी अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा आफूलाई जिताए जातीय प्रदेशको नामकरण गर्ने भनेर जातीय विद्वेषको आगो झोस्ने काम गरिरहेको पनि उहाँको भनाई छ । ‘जातीय विद्वेषको अपराधपूर्ण आगो सल्काउने काम भएको छ’ पोखरेलले भन्नुभयो ।
नेकपा एमाले अब हरेक कुराको आत्मसमीक्षा गरेर अघि बढ्नु पर्ने उहाँले बताउनु भयो । एमाले अलिकति लडेको बताउँदै पोखरेलले अब दरोसँग उठ्नु पर्ने बताउनुभयो । आत्मसमीक्षाको अभियानमा सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।