झापा । नेकपा (एमाले) स्थायी कमिटीका सदस्य शेरधन राईले अब पार्टीको लक्ष्य मिसन २०८४ भएकोले त्यसलाई केन्द्रमा राखेर पार्टीको अभियान अघि बढाउन मातहत कमिटीलाई निर्देशन दिनु भएको छ ।
नेकपा एमाले झापाको तेस्रो पूर्ण बैठकको प्रमुख अतिथि रहनु भएका कोशी प्रदेशका इन्चार्ज राईले आफ्नो मन्तव्यमा कार्यकर्तालाई यस्तो निर्देशन दिनुभएको हो ।
सिङ्गो पार्टी पङ्तीलाई एक जुट भएर काम गर्न सुझाव दिँदै उहाँले २०८४ सालको निर्वाचनमा तीनवटै तहमा नेकपा एमालेलाई बहुमतसहितको पहिलो दल बनाउने गरी लाग्न भन्नु भएको हो ।
बुधबार बिर्तामोडमा पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा भएको बैठकले पार्टीको मिसन २०८४ लाई केन्द्रित गरी जिल्ला पार्टीका नेताहरूको कर्यविभाजन गरेको जनाइएको छ ।
पार्टीले एकवर्ष भरी गर्ने कामको वार्षिक कार्ययोजना पनि बनाएको छ । त्यसको लागि आवश्यक पर्ने बजेटसमेत बैठकमा प्रस्तुत गरिएको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य एवं झापा जिल्ला इञ्चार्ज रोमनाथ ओली, कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा लगायतको उपस्थितिमा भएको बैठकले पार्टीका अभियानलाई व्यवस्थित रूपले अघि बढाउने निर्णय गरेको छ ।
बैठकको सुरुमै अन्य पार्टीबाट समायोजन भएर आएकासहित गरेर दोस्रो बैठकले मनोनयन गरेका ११ जनालाई जिल्ला कमिटी सदस्य पदको सपथ ग्रहण गराइएको थियो । सो बैठकबाट निर्वाचन क्षेत्र नं ५ ख मा बोधराज न्यौपानेको संयोजकत्वमा निर्वाचन क्षेत्र स्तरीय कमिटी गठन गरेको छ ।
बैठकमा पार्टी उपाध्यक्ष शिव ढुङ्गेलले बैठकको आचारसंहिता प्रस्तुत गर्नुभएको थियो भने कार्यालय सचिव छविलाल विश्वकर्माले करिब ५ करोड ५० लाख रुपैँया बराबरको वार्षिक आम्दानी र खर्चको अनुमानित विवरण प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा लेखा आयोगका अध्यक्ष राजेन्द्र भट्टराईले लेखा कमिटीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।