काठमाडौँ । नेकपा एमालेले पार्टीका सम्पूर्ण पूर्वघाषित कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने भएको छ । एमालेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि शोकको घडीमा पार्टी र पार्टी सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिनु भएको हो ।
पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि नेकपा एमालेले आकस्मिकरूपमा सचिवालय बैठक पनि बोलाएको छ । पार्टीको सचिवालय बैठक आज ११ बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
गए राति १ः३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो । उहाँको पार्थीव शरीरलाई अहिले केहीबेर पछि ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि राखिने तय भएको पनि जनाइएको छ ।
पार्टीका उपाध्यक्ष तथा संसदीय दलका उपनेता नेम्वाङको निधनमा दुःख ब्यक्त गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको भनी स्मरण गर्नुभएको छ।
‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो’ अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।
लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्याएको योगदान सधैं सम्झिरहने उल्लेख गर्दै ओलीले लेख्नुभएको छ, ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली !’
पार्टीका संसदीय दलका उपनेता तथा इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै
कार्यवाहक महासचिव ज्ञवालीले नेपाली कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय आन्दोलनमा पुगेको क्षति अपूरणीय रहेको र यो रिक्तता कहिल्यै नपुरिने बताउनु भएको छ ।