झापाली आवाज

उपत्यका विशेष प्रदेशको अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत

काठमाडौँ । नेकपा एमालेको उपत्यका विशेष प्रदेशको प्रथम अधिवेशनबाट प्रेम पराजुलीको अध्यक्षतामा सबै पदमा सर्वसम्मत भएको छ । निर्वाचन समितिका संयोजक घनेन्द्र श्रेष्ठले सबै पदमा दोहोरो उम्मेदवारी नपरेको जानकारी दिनुभएको हो ।

अध्यक्षमा उम्मेदवारी दिनुभएका नेपाल पर्यटन बोर्डका उपाध्यक्ष समेत रहेका चन्द्र रिजालले छाडिदिएपछि सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो । रिजालको उम्मेदवारी फिर्ताअघि नेतृत्वले उहाँको व्यवस्थापनका विषयमा सहमति गरेको बुझिएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा जिफन्टका उपाध्यक्ष विदुर कार्की निर्विरोध हुनुभएको छ । त्यस्तै सचिवमा मिलेन धरेल निर्विरोध हुनुभएको छ । त्यस्तै उपसचिवमा जिफन्टकै उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित हुनुभएको छ ।

गैह्र भौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको सदस्यहरू पनि सबै निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

कूल ३०४ प्रतिनिधि रहेको अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । सो प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी रहेका छन् ।

शुक्रबार अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष ओलीले नेपाली राजनीतिमा एमालेको प्रतिस्पर्धी नै नभएको बताउनु भएको छ । एमाले विचार र जनाधार दुवै भएको पार्टी भएकाले देशको विकास र समृद्धिको अगुवाइ पनि एमालेले मात्र गर्न सक्ने बताउनुभयो ।

अध्यक्ष ओलीले प्रतिस्पर्धा गर्न नसक्ने विपक्षीहरूले एमालेविरुद्ध षड्यन्त्र गरिरहे पनि ती षडयन्त्रलाई असफल पार्दै अघि बढिने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो– द्रव्य शाहको तरिकाका षडयन्त्रहरू आज सफल हुँदैनन् प्रतिस्पर्धाबाटै श्रेष्ठता कायम गर्नुपर्छ भन्ने कुरा उनीहरूले बुझ्नुपर्छ ।

उहाँले एमालेका कार्यकर्ताहरूलाई कार्यक्षमता अभिवृद्धि गरी सक्रियता बढाउन र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न निर्देशन दिनुभयो ।

एमाले अधिवेशनलाई लिएर विरोधीहरूले एकोहोरो टिप्पणी गरिरहेको भन्दै अध्यक्ष ओलीले उपत्यका विशेष प्रदेशको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेर नमूना बन्न र एमालेमा डेमोक्रेसी नै भएन भन्ने अवस्था सिर्जना गर्न आग्रह गर्नुभयो ।

उहाँले कार्यकर्तालाई सामाजिक सञ्जालमा अनावश्यक कुरा राखेर समय खर्च नगर्न आग्रह गर्नुभयो । सामाजिक सञ्जाललाई सिर्जनात्मक प्रयोग गर्न, भ्रम चिर्न र जागरणको लागि हस्तक्षेप गर्न निर्देशन दिनुभयो । सामाजिक सञ्जालमा बेठीकका विरुद्ध र ठीकको पक्षमा सक्रियता र हस्तक्षेप बढाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त भूमि र दक्ष जनशक्ति भएको नेपालका युवाहरु विदेशी भूमिमा रोजगार खोज्न जानु देशको लागि विडम्बना भएको बताउनुभयो ।
देशको युवा जनशक्तिलाई स्वदेशी भूमिमा परिचालन गर्न नसकेकै कारण मुलुक गरिबीको रेखाभन्दा माथि उठ्न नसकेको उहाँको भनाइ छ ।

‘नेपाली युवाहरुको परिश्रम र मेहनतले विदेशी राष्ट्रहरु समृद्ध भइरहेका छन्, हामीले आफ्नो जनशक्तिलाई स्वदेशी भूमिमा काम लगाउन सकेका छैनौं’ अध्यक्ष ओलीले भन्नुभयो– एमालेको अभियान युवालाई स्वदेशमै रोजगार बनाउने हो, आफ्नै भूमिमा सुन फलाउने हो, त्यसका लागि सिङ्गो पार्टी परिचालित छ ।
नेपाललाई प्रकृतिले सबै चिज प्रदान गरेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले त्यसको सदुपयोग गर्न नसक्नु नै सबैभन्दा कमजोरी भएको बताउनुभयो ।

नेपालमा रहेका हिमाल, पहाड, तराई, जल जंगल, अथाह पानी, जडिबुटी, चट्टान, फलाम तथा खानीजन्य चिजको सही सदुपयोगका लागि युवा शक्ति यही परिश्रम गर्नुपर्छ” उहाँले भन्नुभयो– हाम्रो देश हामीले नै बनाउने हो, कोही बाह्य व्यक्ति आएर बनाउँदैन, हाम्रो पसिना यही बग्नुपर्छ । हाम्रा युवाहरू यही श्रम गर्नुपर्छ । त्यसको नेतृत्व एमालेका नेता तथा कार्यकर्ताको विशाल पङ्तीले गर्नुपर्छ ।

विश्वलाई ज्ञान सिकाउने ज्ञानको उद्गमस्थल नेपाल भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले नेपालीलाई सिर्जनात्मक र बहुआयामिक क्षमतावान बनाएर नेपाल बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना एमालेले गरेको बताउनुहुँदै उहाँले हाम्रै पालामा नेपाल समृद्ध बनाउन सबै लाग्नुपर्छ, भन्नुभयो ।

‘एमाले जनआधारित पार्टी भएकाले जनताको हितमा, देशको हितमा मात्र काम गर्नुपर्छ’, अध्यक्ष ओलीले भन्नुभयो– हामीलाई त्यतिकै बस्न छुट छैन, हाम्रा कार्यकर्ता काम गर्ने दक्ष कार्यकर्ता हुन्, आफ्नो सीप, दक्षता र क्रियाशीलता प्रदर्शन गरेर नेपाललाई बनाउन सकिन्छ ।

कार्यकर्तामा अनुशासन अनिवार्य रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले अनुशासनविना परिवार, समाज, पार्टी र देशको कल्पना गर्न नसकिने बताउनुभयो ।

संविधानमा सबै कुराको व्याख्या गरेर सम्भव नहुने भन्दै उहाँले अनुशासनले व्यक्ति, परिवार, समूह, समाज, पार्टी र देशलाई नै बाँध्ने काम गर्नेगरेको उहाँले चर्चा गर्नुभयो ।

पार्टीको नीति, देशको ऐन कानुन, संविधान सबै अनुशासनकै एक रूप भएको उहाँले व्याख्या गर्नुभयो ।

Scroll to Top