बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेम संघ) झापा जिल्ला कमिटीले ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिर्तामोडमा प्रशिक्षण कार्यक्रम गरेको छ । अनेम संघको इतिहास, उद्देश्य, लक्ष्य र समसामयिक राजनीतिलाई समेटर प्रशिक्षण दिइएको हो ।
अनेम संघ केन्द्रीय सचिवालय सदस्य तथा झापा इन्चार्ज सुमित्रा भण्डारीको प्रमुख आतिथ्यमा नेकपा एमाले झापा जिल्ला कार्यालयमा आयोजना गरिएको कार्यक्रमममा मन्तब्य राख्दै उहाँले नेपाली आन्दोलनमा अनेम संघको भूमिका, संगठन भित्रको अनुशासन र तीनै तहको निर्वाचनमा महिलाको सहभागिताको बारेमा जानकारी गराउनु भयो ।
आन्दोलनका क्रममा सुरुका दिनदेखि नै महिलाहरु संघर्षमा सक्रिय रुपमा अग्रपंक्तिमा पाइए तापनि पछिल्लो समय हरेक तह र पक्षबाट अपहेलित मात्र नभएर राज्यका निर्णायक तहमा नगण्यरुपमा मात्र महिलाको सहभागिता रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मिना पोखरेल उप्रेतीले प्रशिक्षण प्रदान गर्नका लागि जिल्लामा पुरुष बराबरकै योग्यता र क्षमता भएका शिक्षा र अनुभवले खारिएका महिला रहेको दाबी गनर््ुभयो । उहाँले महिलाहरुको दक्षता र क्षमतालाई अवमूल्यन गर्दा पार्टीका प्रशिक्षण कार्यक्रममा पुरुषहरु नै हाबी हुने गरेको आरोप पनि लगाउनु भयो ।
यस्तै, पार्टीका केन्द्रीय लेखा आयोगका सदस्य जसमाया गजमेरले संगठनमा मितव्ययिता र पारदर्शिता अपनाउन निर्देशन र सुझाव दिनुभयो । अनेम संघले विगतमा गरेका र वर्तमानमा गरिरहेको कार्यको चर्चा गर्दै पार्टीका भातृ संगठनमध्ये अनेम संघ उत्कृष्ट रहेको उहाँको दाबी थियो ।
संगठनको इतिहास लेख्दा पूर्व जिम्मेवारहरुसँग परामर्श गर्न सुझाउँदै उहाँले अनेम संघ झापाको जिल्ला कमिटीबारे पूर्वप्रस्तुत धारणा सच्याउन पूर्वअध्यक्षको नाताले सुझाव पनि दिनुभएको थियो । यसअघि सोही कार्यक्रममा अनेम संघ झापाको इतिहासबारे भ्रामक कुरा बाहिरिएकोमा उहाँले सो कुराको प्रतिवाद गर्दै सत्य कुरा लेखेमा सही दस्तावेज बन्ने र पछि यथार्थ इतिहास बन्ने औंल्याउनु भएको हो ।
कार्यक्रमको मुख्य विषयमा अनेम संघ कोशी प्रदेशका सचिव हेमकला कट्टेलले संगठनले उपलब्धी गरेका कार्य र विश्व महिला आन्दोलनका बारेमा प्रशिक्षण प्रदान गरेकी थिइन् । उनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सुरुवात र नेपाली महिलाको राजनीतिक योगदानको चर्चासहितको प्रशिक्षण दिनु भएको थियो ।
सो कार्यक्रमका अतिथि वक्ता नेकपा एमाले झापाका उपसचिव असारु राजवंशीले साम्राज्यवादी शक्तिहरु सल्बाइरहेका बेला भातृसंगठनहरु चयामान हुनुपर्ने आवश्यकता औंल्याउनु भएको थियो ।
अनेम संघ जिल्ला अध्यक्ष पवित्रा पाठकको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले नेपालमा भएका हरेक क्रान्तिमा महिलाहरुको अग्रणी भूमिका रहेको स्मरण गराउनु भयो । उहाँले महिलाहरुको क्षमता नभएर नभई नेतृत्वले विश्वास नगर कै कारण अहिले पनि कार्यकारी पदमा महिलाहरु पुग्न नसकेको जिकिर गर्नुभएको थियो ।
अनेम संघले इतिहासको विभिन्न कालखण्डमा जिल्लामा योगदान गरेका महिलाहरुको बारे कृति प्रकाशन गर्ने तयारी गरिरहेको उहाँले जानकारी दिन्ुभएको छ ।
जिल्लाका नेतृत्व तहको महिलाहरु उपस्थित रहेको कार्यक्रमको स्वागत मन्तव्य अनेम संघका उपाध्यक्ष रेणुका डाँगीले र सञ्चालन सचिव लीला दाहालले गर्नुभएको थियो ।